Logo
Logo

घर भाडामा दिँदा र खाली हुँदा काठमाडौं महानगरलाई जानकारी दिनुपर्ने


630
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका घरबेटीले अब घरभाडामा दिँदा र घर खाली भएको सूचना महानगरपालिकालाई सात दिनभित्र दिनुपर्ने भएको छ।

महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। उक्त निर्देशिकामा घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

बाँकी दुई प्रतिमध्ये एकरएकप्रति भने सम्झौताकर्ताले राख्नुपर्नेछ। घर खाली भएको जानकारी नगराएको खण्डमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर तिर्नुपर्ने हुन्छ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड ९छप्पर०, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था महानगरले ल्याएको हो।

घरबहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ। निर्देशिका अनुसार मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरेर बहाल रकम बुझाउने समय र प्रक्रिया वडा कार्यालयमा बुझाउनु पर्नेछ।

घरधनी र बहालमा बस्नेबीच हुने सम्झौतामा बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदीको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी गर्नेसम्बन्धी व्यवस्था पनि हुने उल्लेख छ ।

यस्तै निर्देशिका अनुसार बहालमा बस्नेले सम्झौता गरेपछि प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको बहाल रकम बुझाउनुपर्ने हुन्छ। बहाल रकम नगदै वा बैंक खातामा जम्मा गरिदिएपछि सोको भौचरको एकप्रति राख्नुपर्ने छ ।

तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भंग भएर घर खाली गराउन सकिने छ। बहालमा बस्नेलाई घरधनीले सम्झौता विपरीत कार्य गरेमा हटाउन लिखित निर्देशन दिनसक्ने व्यवस्था महानगरले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्