
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ ।
संस्कृति मन्त्री सुदन किरातीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई र उपकुलपतिमा कवि विमल निभा नियुक्त भएका छन् ।
त्यस्तै, सदस्यसचिवमा प्राडा धनप्रसाद सुवेदी नियुक्त भएका छन् । मन्त्रालयले ललितकला प्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छालीलाई नियुक्त गरेको छ । उपकुलपतिमा लालकाजी लामा र सदस्यसचिवमा पाल्साङ्मो लामा नियुक्त भएका छन् ।
यस्तै संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त भएका छन् । उपकुलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ । कुष्मा महरा सदस्यसचिव बनेका छन् ।














