
काठमाडौं । गत १ माघमा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजमा दुर्घटनाको ठीक १४ सेकेण्डअघि पाइलटको कमाण्ड परिवर्तन भएको पाइएको छ ।
दुर्घटना जाँच आयोगले जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘जहाज दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघि मात्र दोस्रो पाइलट जहाज नियन्त्रणको सिटमा बसेका छन् । जतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो । को–पाइलटले जहाज नियन्त्रण गर्न नसकेपछि मुख्य पाइलटले जहाजको नेतृत्व लिएको देखिन्छ ।
‘जहाज निकै तल झरिसकेको र जहाज मोड्न खोज्दा जहाजका दुबै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको छ । जसका कारण इन्जिनले काम गर्न नसक्दा सेती खोचमा झर्न पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । त्यसदिन वातावरण सफा रहेकोसमेत जाँज बुझ समितिले प्रतिवेदनमा भनेको छ ।
जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । जहाज लेन्डिङ हुन करिब १ मिनेटअघि मात्र दुर्घटनाग्रस्त हुन पुगेको प्रतिवेदनमा उल्लेख छ ।















