काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिपति राष्ट्रिय सहमतिमा हुनुपर्ने बताएका छन् ।
आज (बिहीबार) सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने– ‘हाम्रै नेतृत्वमा राष्ट्रिय सहमति कायम भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसो हुँदा प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर उहाँहरुलाई पनि सम्बोधन गर्नेगरी राष्ट्रिय सहमतिको वातावरणलाई अझ सुदृण गर्ने गरी अगाडि बढ्नु राष्ट्रपति चयनका सन्दर्भमा पनि सान्दर्भिक हुन्छ भन्ने हाम्रो धारणा हो । त्योभन्दा बढी हामीले केही भनेका पनि छैनौं र हाम्रो चाहना पनि छैन ।’
उनले कसैले भत्काउन चाहेर मात्रै गठबन्धन नभत्किने तर सत्तारुढ दलका आपसी व्यवहारमा पनि त्यो भरपर्ने बताए । ‘गठबनधन, अहिले जसले सरकार चलाइरहेका छन् । उनीहरुले नै सही दृष्टिकोणले सही नीति अनुसार विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ’, उनले भने ।
सत्तागठबन्धनबीच सुदृण सम्बन्ध हुनका लागि प्रतिगमनलाई कुनै पनि हालतमा अघि बढ्न नदिने राष्ट्रियताको रक्षा, सुरक्षा र बाँकी सुशासनका काममा सबैको उत्तिकै प्रतिबद्धता हुनुपर्ने बताए ।














