Logo
Logo

देउखुरीमा चितुवा आतंक


315
Shares

फाइल फोटो

भालुवाङ । देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको उक्त फार्म सञ्चालक वसन्तराज अधिकारीले जानकारी दिए।

‘राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेलामात्र थाहा भयो’, अधिकारीले भने ।

यस्तै लमही नगरपालिका–३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदिएको छ । त्यस्तै मंगलबार राति नै लमही नगरपालिका–३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको कुमालको भनाइ छ ।

विगत डेढ महिनाअघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतंक बढेको छ । सामान्य घर खर्चका लागि पालिएकादेखि व्यावसायिकरूपमै फार्म खोलेर पालिएका बाख्रा चरिचरनका लागि जंगल लैजाँदा दैनिकरूपमा चितुवाले खाइदिने गरेको बाख्रापालक किसानको गुनासो छ ।

दिनानुदिन बढ्दै गएको चितुवा आतंकले किसान चिन्तित र त्रसित बनेका छन् । यसअघि पनि लमही नगरपालिका–३ का लोकमणि बन्जाडेले जंगलमा चराउन लगेका तीनवटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो ।

दैनिकजसो चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पुर्याउन थालेको किसानले गुनासो गर्न थालेपछि प्रक्रिया पूरा गरेर वन कार्यालयमा निवेदन दिए क्षतिपूर्ति उपलब्ध हुने डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सूचना अधिकारी छोटेलाल चौधरीले बताए । बाख्रा लिएर किसान जंगल जान छाडेपछि चितुवा गाउँमै पसेर वस्तुभाउमाथि आक्रमण गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्