
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँ, ख्वपः कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आयोजित शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
कार्यक्रमका सभापति भनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ ल समेत गरी हाल आठवटा कलेजमा देशभरिका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।
नगरपालिकाले विद्यार्थीलाई हरेक वर्ष तीन करोड रुपैयाँ बराबरको छात्रवृत्ति, पाँच लाख रुपैयाँसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।














