
काठमाडौं । प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए ।
‘कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्’, उनले भने, ‘इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।’
निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।














