
काठमाडौं । अबदेखि प्रतिनिधिसभाको बैठक बस्ने समय तोकिएको छ । प्रतिनिधिसभा नियामावली मस्यौदा समितिले विशेष अवस्थामा बाहेक बैठक दिउँसो १ बजे बस्नेगरि समय तोकेको हो ।
‘सभामुखले अन्यथा आदेश दिएमाबाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ,’ नियमावलीको परिच्छेद २ को (६) मा भनिएको छ, ‘तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन् ।’
यसअघि नियमावलीमा दुई घण्टासम्म बैठक नबसे मात्र सूचना प्रकाशित गरेर अर्को बैठक बोलाउने व्यवस्था राखिएको थियो ।
यसअघि पनि नियमावलीले दिउँसो १ बजे नै नियमित बैठक बस्ने व्यवस्था गरेका थियो । तर, राजनीतिक दलहरूका कार्यक्रम तथा छलफलका विषयको संवेदनशीलताका आधारमा संसद् बैठक अन्य समयमा पनि बस्ने गरेका थिए ।
अहिले गरिएको व्यवस्थामा पनि सभामुखले बैठकको समय तोक्न सक्नेछन् । समितिले पारित गरेको मस्यौदा प्रतिनिधि सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।














