काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन कुन दिन भत्किन्छ भन्ने थाहा नभएको बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा आयोजित दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपतिको चुनाबबाट वर्तमान सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने उनले दावी गरे । सत्ता गठबन्धनमा संविधान बिरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु भएकाले यो गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको तर्क छ ।
आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।














