Logo
Logo

ओली-माधवको गोप्य भेट


5.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अधयक्ष माधव नेपालबीच गोप्य भेटवार्ता भएको छ ।

ओली र नेपालबीच दुई दिनअघि महाराजगञ्जको एउटा घरमा गोप्य भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले नेता नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । नेपाल निकट एक नेताले भेटबारे पुष्टि गर्दै भने, ‘धेरै नै कुरा भएको छ । तर अहिले सबै भनिहाल्ने अवस्था भएको छैन ।’

राष्ट्रपति चुनावका लागि यही फागुन १३ गते उमेदवारी दर्ताको कार्यतालिका छ । तर, कुनै पनि दलले एकल रुपमा राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन सक्ने अवस्था छैन । त्यसैले दलहरुले राष्ट्रपति को बन्ने अथवा कुन दलबाट बन्ने भन्ने निर्णय लिन सकिरहेका छैनन् ।

एमालेले सत्तारुढ दलका तर्फबाट आफ्नो पार्टीले उठाउने उमेदवारले जित्ने दाबी गरिरहँदा कांग्रेसले पुरानो गठबन्धन ब्युँताएर आफ्नो उमेदवारलाई जिताउने दाबी गरिरहेको छ ।

प्रमुख दुई दलको गठबन्धनमा निर्णायक भने प्रतिनिधिसभामा ३२ सिट मात्र रहेको माओवादी केन्द्र छ । माओवादी केन्द्रले संघीय सरकारको नेतृत्व सम्हालिरहेको छ ।

माओवादीले जसलाई समर्थन गर्छ उसैको उम्मेदवार राष्ट्रपति बन्ने पक्का हो । माओवादीको पदाधिकारी बैठकले राष्ट्रपतिलाई सघाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पु¥याउने लिखित सहमति खोजेका छन् ।

माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका हुन् । ओलीसँगको भेटपछि अध्यक्ष नेपालले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्