
काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज (शनिबार)पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वीसूब्ब गुरुङले जानकारी दिए । उनले पुस १० गतेको सहमति कायम नै रहेको जानकारी दिए ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
नेपाली कांग्रेसले राष्ट्रपति पदकालागि वरिष्ट नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले नेता पौडेललाई राष्ट्रपतिमा प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सर्वसहमत अनुमोदन गर्दै नेता पौडेललाई उम्मेदवार बनाउने भएको हो ।














