Logo
Logo

आईसीसी यू-१९ विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको शानदार जित


1.1k
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको शानदार जित हासिल गरेको छ । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा नेपालले शानदार जित हात पारेको हो ।

युएईको मलेक क्रिकेट ग्रउन्डमा शनिबार भएको खेलमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०–५ ओभरमा १०० रनमा अलआउट भयो । कुवेतलाई १०० रनमा अलआउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए भने १० ओभर बलिङमा ४३ रन खर्चिए । ६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिनमात्र टिममा समावेश भएका थिए ।

कप्तान गुल्सन झालाई सिनियर टिमबाट रिलिज गर्न प्रशिक्षक मोन्टी देसाईँले नमानेपछि उनको स्थानमा आकाशले अवसर पाएका थिए । नेपालका तिव्र गतिका बलर हेमन्त धामी र स्पिनर दिपेश कंडेलले समान २–२ विकेट लिए ।

कुवेतका लागि ओपनर जुड क्रिस्टोफर सल्धनाले सर्वाधिक २६ रन बनाए । उनले २४ बलमा ४ चौका प्रहार गरे भने अर्का ओपनर किशोरभाइ हिन्सुलु १६ बलमा १६ रन बनाए ।

कुवेतका लागि पहिलो विकेटका ३४ रनको सबैभन्दा बढी साझेदारी रह्यो । मोहम्मद रसिकले १९ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो । नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।

अर्जुन कुमाल १०८ रनमा आउट भए भने १२ बल खेलेका उनले १२ चौका हानेका थिए । विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्