
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेलाई राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको छ ।
बिहीबार बिहान उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित एमाले नेताहरुसँगको भेटमा अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन नसकिने जवाफ दिएका हुन् ।
एमालेले छलफलको वातावरण सुरु गरेकोमा धन्यवाद दिँदै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनमा सघाउन नसकिने जवाफ दिएको जानकारी दिए ।
उनले भने– ‘औचित्य नै नभएको भन्ने एमालेले आज निर्वाचनमा भोट माग्न आउनुभयो । त्यो पक्कैपनि एउटा परिवर्तनको संकेत हुन सक्छ । तर, हामी अर्कै पार्टीको प्रस्तावक बसेका छौं । यस्तो बेला हामीले एमालेलाई सघाउन सक्दैनौं ।’
आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् । एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्रको पक्षमा मतदान गर्ने निर्णय नै गरिसकेको छ ।











