
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र बनाएको छ । आगामी फागुन २५ गते हुने निर्वाचनका लागि आयोगले दुईथरि मतपत्र बनाएको हो ।
जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।












