काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई केही होइन भन्नेहरू राष्ट्रपतिको प्रस्ताव लिएर आएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादी निकट दलित संगठनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो भूमिका राष्ट्रिय राजनीतिमा बढेकाले आफूमाथि राष्ट्रपति बन्न प्रस्ताव आएको बताएका हुन् ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजर अन्दाज गर्न नसक्नेसमेत दावी गरे । उनले भने, ‘हाम्रो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले नजर अन्दाज गर्न सक्दैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीभित्र त्यस्तो प्रस्तावलाई लिएर दुई थरी विचार आइरहेको समेत बताउँदै तर, त्यस्तो प्रस्तावको भ्रममा नपर्न आग्रह गरे ।
यसअघि शनिबार नै एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘राष्ट्रपति बन भनेर प्रस्ताव गर्दा कांग्रेसलाई सोध्न गएको’ टिप्पणी गरेका थिए ।
ओलीको उक्त टिप्पणीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘हामीलाई केही होइन भन्नेहरू आज राष्ट्रपतिको प्रस्ताव ल्याइरहेका छन् । यस्ता प्रस्तावबाट माथिंगलहरु चक्कराइरहेको हुनसक्छ ।’
उनले थपे, ‘कतिले राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भएहुन्थ्यो भनेका छन् । कतिपयले त्यस्ता प्रस्तावमा भ्रमित भएर चुर्लुम्म डुब्ने पो हो कि भन्ने चिन्ता जगाएको देखिन्छ ।’










