Logo
Logo

एमालेको वरिष्ठ नेता बनेपछि विद्या भण्डारी पहिलोपटक चीन जाँदै, ओली सशङ्कित 


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको शक्ति सङ्घर्षपछि पार्टी राजनीतिमा पुनरागमन भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएपछि ओली सशङ्कित भएका छन् । पार्टीलाई थाहै नदिई चीन सरकारले पूर्व राष्ट्रपति भण्डारीलाई चीन सरकारले निम्तो दिएपछि ओली सशङ्कित भएका हुन । स्रोतका अनुसार उनी तीनदिन चीनमा रहनेछिन् । 

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि पहिलोपटक चीन भ्रमणमा जाने विषय अहिलेसम्म पार्टीको औपचारिक च्यानलमा जानकारी छैन । चीन सरकारको निमन्त्रणामा उनी दसैँ बिदाकै क्रममा बेइजिङ जान लागेकी हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको शक्ति सङ्घर्ष, पार्टी सदस्यता प्राप्तिका क्रममा देखिएको विवाद र वरिष्ठ नेतामा मनोनयनसम्मको राजनीतिक उतारचढावपछि हुन लागेको उनको चीन भ्रमणलाई ओली आफैले पनि निकट नेताहरूसँग अर्थपूर्ण रहेको भनेका छन् । 

सरकारी उच्च स्रोतका अनुसार भण्डारी केही दिनभित्रै चीन जाने तयारीमा छिन्। उनको भ्रमणबारे परराष्ट्र मन्त्रालय भने जानकार रहेको छ । भ्रमण तालिकाको विषयमा परराष्ट्र मन्त्रालयले पूर्व राष्ट्रपतिसँग समन्वय गरिरहेको छ ।  

तर, भ्रमणको औपचारिक उद्देश्य, भेटघाटको कार्यसूची र चिनियाँ पक्षले उनलाई निमन्त्रणा दिनुको कारणबारे अहिलेसम्म विस्तृत विवरण सार्वजनिक भएको छैन । चिनियाँ नेतृत्वसँग उनको भेटवार्ता हुने वा भ्रमणमा पार्टीगत सम्बन्धले प्राथमिकता पाउने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

पार्टी राजनीतिमा पुनरागमन गरेलगत्तै हुन लागेको चीन भ्रमणले भण्डारीको व्यक्तिगत राजनीतिक सक्रियताभन्दा पनि एमालेभित्रको शक्ति सन्तुलन र भावी नेतृत्वको समीकरणबारे चासो बढाएको छ । सात वर्षभन्दा बढी समय राष्ट्रपतिको जिम्मेवारी सम्हालेर सक्रिय दलीय राजनीतिबाट टाढा रहेकी भण्डारी अहिले पुनः एमालेको नेतृत्व तहमा स्थापित भएकी छन् । त्यसैले उनको भ्रमणलाई सामान्य विदेश यात्राका रूपमा मात्रै हेर्न कठिन छ ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन्। राष्ट्रपति बन्नुअघि पार्टी सङ्गठन र नेतृत्वमा प्रभावशाली भूमिका निर्वाह गरेकी उनले पदमुक्त भएपछि पुनः सक्रिय राजनीतिमा फर्कने इच्छा देखाएकी थिइन् । तर, उनको राजनीतिक पुनरागमन सहज भएन । पार्टी सदस्यता दिने कि नदिने भन्ने विवाददेखि अध्यक्ष ओलीको अनिच्छासम्मले उनको पुनरागमनलाई एमालेभित्रको शक्ति सङ्घर्षसँग जोडेको थियो ।

राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीलाई पुनः पार्टीमा सक्रिय गराउँदा त्यसले एमालेको नेतृत्व संरचना र शक्ति सन्तुलनमा पार्न सक्ने प्रभावबारे पार्टीभित्रै प्रश्न उठेका थिए । उनी केवल पूर्वराष्ट्रपति मात्र थिइनन्, एमालेको सङ्गठनात्मक संरचना र पुरानो नेतृत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेतासमेत थिइन् । त्यसैले उनको पुनरागमनलाई सदस्यता प्रदान गर्ने प्राविधिक विषयमा सीमित राख्न सकिने अवस्था थिएन ।

भण्डारी पार्टी राजनीतिमा फर्किए नेतृत्वको अर्को शक्ति केन्द्र निर्माण हुन सक्ने आकलन एमालेभित्र हुँदै आएको थियो। यही कारण उनको सक्रियताप्रति ओलीसहितका नेताहरू सहज नरहेको चर्चा पनि चल्यो । यद्यपि, ओली र भण्डारीबीचको सम्बन्ध तथा उनीहरूबीच कुनै औपचारिक समझदारी बनेको विषयमा सार्वजनिक पुष्टि भएको छैन ।

गत फागुनको निर्वाचनमा एमालेले पराजय व्यहोरेपछि पार्टीभित्र नेतृत्वको कार्यशैली, सङ्गठनको अवस्था र भावी राजनीतिक दिशाबारे आत्मसमीक्षाको बहस सुरु भएको थियो । त्यसपछि जेठमा पार्टी सदस्यता खुलाउने निर्णय भयो । भण्डारीको सदस्यताको विषय पनि यही राजनीतिक पृष्ठभूमिमा फेरि चर्चामा आएको थियो ।

एमाले सचिवालयको असोज ८ गतेको बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय ग¥यो । त्यसपछि केन्द्रीय कमिटीले उनको नाम अनुमोदन गरेसँगै पार्टीमा उनको औपचारिक भूमिका स्थापित भएको छ। यसले उनलाई पार्टी सदस्यतामा सीमित नराखी नेतृत्व तहमा स्थान दिएको छ ।

तर, वरिष्ठ नेतामा मनोनयन हुनु र पार्टीको सर्वोच्च नेतृत्वमा पुग्ने बाटो खुल्नु फरक विषय हुन् । भण्डारीको वास्तविक प्रभाव पार्टीको निर्णय प्रक्रियामा उनको पहुँच, सङ्गठनभित्रको समर्थन र आगामी महाधिवेशनको समीकरणले निर्धारण गर्नेछ । ओलीको नेतृत्वलाई सहयोग गर्ने वा एमालेभित्र छुट्टै प्रभावशाली राजनीतिक धार निर्माण गर्ने भन्ने प्रश्न पनि अझै अनुत्तरित छ । यस अवस्थामा चीन भ्रमणले उनको पुनरागमनलाई थप चर्चामा ल्याएको छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूसँग चीनले लामो समयदेखि पार्टीगत सम्बन्ध र राजनीतिक संवाद कायम गर्दै आएको छ । एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच पनि विभिन्न तहमा सम्पर्क र सहकार्य हुँदै आएको छ। यस्तो पृष्ठभूमिमा एमालेको वरिष्ठ नेतृत्वमा पुनः स्थापित भएकी पूर्वराष्ट्रपति भण्डारी चीन जान लाग्नुलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ ।

भण्डारीको भ्रमणको महत्त्व निमन्त्रणाको स्रोतमा मात्र सीमित छैन। उनी पार्टी राजनीतिमा पुनरागमनको प्रक्रियामा रहेको र एमालेभित्र भावी नेतृत्व तथा शक्ति सन्तुलनबारे बहस चलिरहेको समयमा चीन जान लागेकी हुन् । त्यसैले भ्रमणको समय, भेटघाटको प्रकृति र त्यसबाट निस्कने राजनीतिक सन्देश महत्त्वपूर्ण हुन सक्छन् । यद्यपि, चीनले उनलाई किन निमन्त्रणा दिएको हो भन्नेबारे आधिकारिक आइसकेको छैन । चिनियाँ नेतृत्वसँग भेटवार्ता हुने कार्यक्रम छ वा छैन, भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा हुन लागेको हो वा पार्टीगत संवादमा केन्द्रित हुनेछ भन्ने विषय स्पष्ट भएको छैन । भ्रमणको कार्यसूची पनि सार्वजनिक भएको छैन । 

भण्डारीको पुनरागमनले एमालेभित्र नेतृत्वको बहसलाई नयाँ आयाम दिएको छ। निर्वाचनमा पराजयपछि पार्टीले आफ्नो राजनीतिक दिशा र सङ्गठनात्मक अवस्थाबारे समीक्षा गर्नुपर्ने दबाब सामना गरिरहेको छ । यस्तो समयमा पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी वरिष्ठ नेताका रूपमा फर्किनुले पार्टीको भावी नेतृत्वको प्रश्नलाई थप पेचिलो बनाउन सक्छ । ओलीसँग उनको सम्बन्ध कसरी विकसित हुन्छ भन्ने विषय यस समीकरणको केन्द्रमा रहनेछ। भण्डारीलाई नेतृत्व तहमा स्थान दिइनुलाई तत्काल ओलीविरुद्ध नयाँ शक्ति निर्माण भएको हो कि भन्ने अनुमान गरिएको छ ।  

भण्डारीसँग पार्टीको पुरानो सङ्गठनात्मक अनुभव, कार्यकर्ता पङ्क्तिसँगको सम्बन्ध र पूर्वराष्ट्रपतिका रूपमा स्थापित राजनीतिक पहिचान छ । यी पक्षले उनलाई एमालेभित्र अन्य नेताभन्दा फरक स्थान दिन्छन् । उनले त्यसलाई राजनीतिक प्रभावमा रूपान्तरण गर्न सक्छिन् वा सक्दिनन् भन्ने कुरा आगामी दिनमा स्पष्ट हुँदै जानेछ। आगामी महाधिवेशनको तयारी, पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व चयनको प्रक्रियाले भण्डारीको भूमिकालाई थप परिभाषित गर्नेछ। उनी वरिष्ठ नेताको औपचारिक जिम्मेवारीमा सीमित रहन्छिन् भन्ने कुरा चीन भ्रमणले निर्धारण गर्ने बताइएको छ । 

भ्रमणका क्रममा हुने भेटघाट र त्यसपछि भण्डारीले पार्टीभित्र निर्वाह गर्ने भूमिकाले पनि नेतृत्व परिवर्तनको विषयमा थप बहस हुनसक्ने अनुमान गरिएको छ । भण्डारीको चीन भ्रमणको वास्तविक अर्थ उनको विदेश यात्रामा मात्र होइन, पार्टी राजनीतिमा फर्किएपछि उनले निर्माण गर्ने भूमिकामा निर्भर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्