सिन्धुली । गोलन्जोर गाउँपालिका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रेगनराज थापाले गोलन्जोरमा नागरिक आरोग्य सेवा केन्द्र बनाउने बताएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले शनिबार गोलन्जोर गाउँपालिका –३ गवाल्टारमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विडम्बना भन्नुपर्छ, आयुर्वेद उपचारमा हामी सिन्धुली जिल्लाकै कमजोर पालिकामा छौं । अन्य पालिकाहरुमा नागरिक आरोग्य सेवा केन्द्र निर्माण भइसकेको भएपनि हाम्रो गाउँपालिकामा सुरुवातसमेत भएको छैन । त्यसैले अब हुने हिउँदे अधिवेशनबाट बजेट विनियोजन गरेर आयुर्वेद स्वास्थ्य कार्यक्रम लागू गर्नेछौँ ।’
साथै, उनले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा समावेश गरेर नागरिक आरोग्य सेवा केन्द्र स्थापनाका निम्ति गाउँपालिका तर्फबाट काम अगाडि बढाउनेसमेत प्रतिबद्धता जनाए । आगामी पाँच वर्षभित्र नागरिक आरोग्य सेवा केन्द्रविहिन पालिकाबाट आयुर्वेद उपचारमा जिल्लाकै पहिलो पालिका बन्ने उनले दाबी गरे ।

सोही कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिका वडा नं ३ का अध्यक्ष केपी पोख्रेलले स्वास्थ्य शिविरबारे नागरिकमा एक किसिमको भ्रम रहेको बताए । उनले भने, ‘बिरामीले स्वास्थ्य शिविरमा निःशुल्क पाएको औषधि नियमित रूपमा नखाने हेलचेक्राइँ गर्ने गरको पाइन्छ । औषधिले काम गर्दैन भन्ने भ्रम नागरिकमा छ । अब त्यस भ्रमलाई चिर्न नियमित औषधि सेवन गर्न चेतना फैलाउनुपर्छ ।’
उनले नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्न गाउँपालिकाको भूमिका नपुगेको भए आफूहरुले त्यसलाई पूरा गर्ने बताए । उनले भने, ‘बिरामी हुँदा ठूलाठूला अस्पताल धाउछौं तर, नजिकै रहेको आयुर्वेद औषधि प्रयोग गर्दैनौँ । त्यसैले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हामी स्थानीय सरकारले हातमा हात मिलाएर अगाडी बढ्नुपर्छ ।’
भिडियो एक्सरे, फिजियो थेरापी अक्युपञ्चर, सुगर, प्रेसर, पूर्वकर्म र स्वस्थ जीवनको लागि परामर्श सेवालगायत सेवा प्रदान गरेको थियो । १ सय ६२ जना विरामीले उपचार सेवा लिएको थिए ।
सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अर्जुन उपाध्याय, डा. सुमन खनाल, आस्था पौडेल, कविन्द्र रोकाय, रामसेवक यादव, विमल श्रेष्ठ, रामराजा अधिकारी र जीवन श्रेष्ठले सेवा तथा परामर्श दिएको सूचना अधिकारी दीपकराज तिमल्सिनाले जानकारी दिए ।










