ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना महिला पत्रकारलाई ‘साधना महिला पत्रकारिता’ सम्मान प्रदान गरेको छ ।
१ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकार त्रय थाहा एफएमका सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनका अञ्जना शिल्पकार र गोर्खापत्रका फोटोपत्रकार कविता थापालाई सो सम्मान प्रदान गरिएको हो ।

नेपालका पहिलो पत्रकार साधना प्रदानको नाममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई सो सम्मान प्रदान गरिएको पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष एवं संयोजक रचना श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा उपमेयर शाक्यले पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाको उपस्थितिको लागि महानगरपालिकाले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले महिलामाथि हुने विभेद, सामाजिक रूपान्तरण र आदिवासी जनजातिको मुद्दा उठानका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं वरिष्ठ महिला साहित्यकार सुलोचना मानन्धर धितालले नेपालका पहिलो महिला पत्रकार साधना प्रधान अधिकारीको सङ्घर्षपूर्ण जीवनगाथा, सामाजिक परिवर्तनप्रति अटुट प्रयासको विषयमा केन्द्रित गर्दै आफ्नो भनाई राखेका थिए ।

उनले विभिन्न भाषाभाषीको साहित्य क्षेत्रका महिलाहरूको व्यक्तित्व र योगदान बारे सञ्चारमाध्यमले उचित प्राथमिकता दिनुपर्नेमा खाँचो औँल्याएका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले सञ्चारमाध्यममा आदिवासी जनजाति महिलाको पहुँच, समाचारमा लैङ्गिक सवाललाई उठाउन फोनिजले काम गर्दै आएको बताए ।
अध्यक्ष राईले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकास गर्न राज्य र स्थानीय तहले ठोस काम गर्नुपर्ने बताए ।
क्रियाशील महिला पत्रकार मञ्चका अध्यक्ष संगीता लामाले आदिवासी जनजाति महिलाहरूलाई ठूलाठूला सञ्चारमाध्यममा काम गर्ने हैसियतमा पुर्याउन ज्ञान, सीप र तालिम दिने कार्यलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आधा आकाश ढाकेका महिलाहरूको अधिकारप्रति उदासिनताले समाज परिवर्तन नहुने विचार व्यक्त गरे ।










