काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् ।
निर्वाचन प्रक्रिया आज बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचन आयोगका अनुसार नतिजा आजै सार्वजनिक हुनेछ । नतिजा सार्वजनिक हुनेबित्तिकै नेपालले चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउनेछ । निर्वाचनमा ८८२ मतदाताले भाग लिने आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा उल्लेख छ ।
नेपाली कांग्रेसबाट उमेदवारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उमेदवार छन् । कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।
कांग्रेस बाहेक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले सहयोग गरेका छन् । भने एमाले उमेदवार सुवास नेम्वाङलाई भने अन्य दलले सहयोग गरेका छैनन् ।
राष्ट्रपतिको प्रतिस्पर्धाका लागि दुवै उमेदवार पूर्वसभामुख हुन् । २०५१ सालको संसद्मा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख बनेका थिए । यस्तै, नेम्वाङ २०६४ र २०७० को संविधान सभा अध्यक्ष हुन् । उनी ०६३ मा पुनर्स्थापित संसद्को सभामुख हुन् ।










