Logo
Logo

संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् : नवनिर्वाचित राष्ट्रपति


1.4k
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि सबैमा आभार प्रकट गर्दै राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिज्ञा गरेका छन् ।

‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्’, पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान गुमाउने सबै शहीदप्रति श्रद्धासुमन अर्पण गरेका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरु एवं मतदान गर्ने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

उनले मित्रवत प्रतिस्पर्धामा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल तथा मतदातालाई पनि सम्मान व्यक्त गरेका छन् ।

‘मलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु’, पौडेलले भनेका छन् ।

निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षलाई पौडेलले धन्यवाद दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलको समर्थनमा पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले ३३ हजार ८०२ र प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्