काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठनबन्धन महिला बिरोधी रहेको आरोप लगाएका छन् ।
शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको साताूँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चाैथाे विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको र महिला बिरोधी देखिएको बताएका हुन् ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने बिषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राखे । उनले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको समेत आरोप लगाए ।
अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले संविधानविपरीत उम्मेदवारी दिएको दाबी गर्दै भने भने, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, त्यसविपरीत गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवार अगाडि सारेको छ ।’
ओलीले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा १० दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानुन छलेका छन् । त्यो कानुन छलेको कुरो कमसेकम हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो । तर त्यस्तो भइदिएन । संविधानले एउटा-एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ ? महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसैअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै, ओलीले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको भन्दै आफ्नो पार्टीमा आउन भनेपछि नेपालले अस्वीकार गरेको दावी गरे ।
ओलीले महिला आन्दोलनलाई डलर पचाउने माध्यममा रुपमा प्रयोग गर्न नहुने र वास्तविक रुपमै एमालेको महिला संगठनले मुलुकका लागि लडेको जिकिर गरे । उनले संगठनलाई बलियो बनाउन पनि सुझाव दिए ।











