
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रैमा समाजवादी मोर्चा बन्ने दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका हुन् ।
‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरुरी छ ।’
समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने उनको भनाइ छ ।
‘एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीको एकताका पक्षमा छ। हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।











