
काठमाडौं । सरकारले आज (शनिबार) मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ता गर्ने तयारी गरेको छ । गृह मन्त्रालयको सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ठठित वार्ता टोलीले आज पीडितसँग वार्ता गर्ने ताायारी गरेको हो ।
वार्ताको समय भने तय भइसकेको छैन। मिटरब्याज पीडितले सल्लाह गरेर वार्ताको समय दिने बताएको वार्ता समितिका सदस्य उपसचिव दिलकुमार तामाङले जानकारी दिए ।
गत शनिबार सरकारले मिटरब्याज पीडितको एक समूहसँग पाँचबुँदे सहमति गरेको थियो । सहमति अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकारसम्पन्न आयोग बनाइसकेको छ ।
‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ले पाँचबुँदे सहमतिले आफूहरूको तत्कालको समस्या समाधान नहुने भन्दै काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।
उनीहरूले मिटरब्याजीहरुले बनाएको जाली तमसुक खारेज गर्नुपर्ने र मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने मुख्य माग राखेका छन् ।











