Logo
Logo

कुखुरा र अन्डाको तस्करी रोक्न गृहमन्त्रीको ध्यानाकर्षण


1k
Shares

काठमाडौं । नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराइएको हो ।

त्यस क्रममा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताए ।

पाँच लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अन्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुवै संघका प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए ।

‘नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ । भारतीय सीमानाकाहरूबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अन्डा दिनहु भित्रँदा यस पेसालाई अत्यन्त ठूलो जोखिम रहेको छ,’ दुवै संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

भारतमा समय–समयमा देखापर्ने बर्डफ्लु संक्रमणका कारण रोग भित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजस्व चुहावट समेत हुने गरेको व्यवसायीको भनाई छ ।

उनीहरूले नाकामा कडाइ गर्न आग्रह गरेका छन् । नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला, अन्डा आयात हुने गरेको उनीहरूको दाबी छ ।

दुवै संघका पदाधिकारीले भारतीय सीमानाकाहरूबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अन्डाहरूको नियन्त्रणका लागि सुरक्षा निकायलाई आवश्यक निर्देशन दिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्