Logo
Logo

७२ वर्षमा भक्तमायाले पाए नागरिकता


441
Shares

काठमाडौं । रामेछापको रामेछाप नगरपालिका–५ हिमगङ्गाका ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाएका छन् ।

अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा गएको टोलीले अपाङ्गता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता प्रदान गरेको हो।

बहत्तर वर्षीया सुनुवारको यसअघि पनि नागरिकता बनाउन प्रयास गरिए पनि सफल नभएको वडा सदस्य रोजकुमार श्रेष्ठले बताए।

नागरिकता नबन्दा उनीहरू सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता दिएपछि आफूलाई असाध्यै खुसी लागेको भक्तमायाका आफन्त मैया सुनुवारले बताए ।

यातायातको सहज पहुँच नहुँदा अपाङ्गता भएका व्यक्ति तथा वृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ।

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने योजना रहेको प्रमुख जिल्ला अधिकारी निरौला बताए।

नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्