
खोटाङ । नेकपा एमाले खोटाङले सांसद पाँचकर्ण राई (पिके)माथि प्रदेशको सुनियोजितढंगबाट दुर्व्यहारको प्रयास भएको जनाएको छ ।
जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश सांसद राईमाथि शनिबार प्रदेशको नामाकरणको विषयलाई लिएर पहिचान पक्षधरले सुनियोजितढंगबाट दुर्व्यहारको प्रयास गरेको बताएको हो ।
एमालेका सचिव कुमार आचार्यले आइतबार विज्ञप्ती जारी गर्दै पहिचानको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरेर दुर्व्यहारको दुष्प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको ईसारामा योजनावद्ध ढंगले जिल्लासभाको रोस्टम प्रयोग गरी एमालेबाट निर्वाचित प्रदेश सांसद राईलाई आक्रमण गर्ने दुष्प्रयास भएको प्रतिक्रिया दिएका छन् ।
विज्ञाप्तिमा प्रदेशको नामाकरणको निर्णय गर्ने प्रकृयामा सहभागी भएकै दलका जनप्रतिनिधि तथा नेताहरुको इसारामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गर्ने हर्कतप्रति घोर भर्त्सना गरिएको छ ।
‘केही जनप्रतिनिधिको संलग्नतामा पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी प्रदेश नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट कार्यक्रम हलभित्र प्रवेश गराई माननीय पाँचकर्ण राई (पिके)लाई दुर्व्यहारको दुष्प्रयास गर्न खोजेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञाप्तिमा भनिएको छ, ‘प्रदेश नामाकरणको निर्णय प्रकृयामा अधिकांश दलहरु सहभागी हुने तर निर्णय प्रकृयामा सहभागी भएका तिनै दलको जनप्रतिनिधि तथा नेताहरुको ईसारामा हाम्रो पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार जस्ता हर्कतप्रति घोर भर्त्सना गर्दछ ।’
पहिचानपक्षधर समूहले जिल्लासभाको कार्यक्रम हलभित्रै सांसद राईविरुद्ध नाराबाजी गरेर कालो झण्डा देखाएका थिए । यायोक्खाका अध्यक्ष युगसन किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी सुरु गरिएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए ।











