Logo
Logo
मृतकको बीमामा ठगी

मृतकको बीमामा ठगी गर्ने रोजगार बोर्डका नासु र बीमा कम्पनीका अधिकृत पक्राउ


3k
Shares

काठमाडौं । मृतकको बीमामा ठगी गर्ने गिरोहमा संलग्न थप दुई दुइजना पक्राउ परेका छन् । वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा (कम्प्युटर अपरेटर) ३६ वर्षीय पशुपति अधिकारी तथा सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन् ।

यसअघि प्रहरीले यसै गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो । बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चैत २३ गते पक्राउ गरेको थियो ।

उनीहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू सहित फेला पारी निजहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको थियो ।

थप व्यक्तिहरूको खोजतलास गर्ने क्रममा चैत २४ गते काठमाडौँ–११ बाट पशुपति अधिकारी र चैत २५ गते भक्तपुर–१० कमलविनायकबाट उमेश बुढाथोकीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्