महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे ।

उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए । ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।’ प्रधानमन्त्री दाहालले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।
‘सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ’, उनले भने, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।’
दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उनले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए । ‘तपाईहरु पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सप्रपना हो । कुनैबेला तपाईहरु जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दर्थे’, उनले भने ।
आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री उनको भनाइ थियो । ‘आज मैले देखेको सपना कति पूरा भयो भएन त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ । परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौँ कि’, उनले भने । आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उनले बताए ।











