
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाका कुमार श्रेष्ठले सार्वजनिक दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् ।
उनले ब्यापारी व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागिएको अडियो आफ्नो नभएको र आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत बताएका छन् ।
ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गरी सो संवादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको जिकीर गरेको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रवि लामिछानेलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएकाे थियाे ।
तर श्रेष्ठको सचिवालयले भने सो अडियोमा भनेको जस्तो ढाका कुमारलाई मन्त्री बनाउने कुरा पार्टीमा नउठेको र यो योजनाबद्ध ढंगले श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउने उद्देश्यले प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ ।
सो अडियो सार्वजनिक भएपछि रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै त्यसबारे छानबिन थालेको जनाएको छ ।छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ ।
साथै तीन दिनभित्र छानबिन प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।











