
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय बाध्यात्मक भएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको तस्वीरसहित लामो स्टाटस लेखेर उनले फोहोर नउठाउनुको कारणबारे प्रस्टीकरण दिएका हुन् । उनले बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीका कारण सिंहदरबारको फोहोर नउठाउने निर्णय गरिएको बताएका छन् ।
उनले भनेका छन्, ‘केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो ।’
काठमाडौँ महानगरमै पर्ने सिहंदरबार महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा पर्छ । तर, यति नजिक हुँदाहुँदै पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्ने अवस्था रहेको उनले बताएका छन् ।
सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको, ९ महिनामा पटक पटक गरिएको कोशिसपछि पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन नगरेर वेवास्ता गरेको उनको अरोप छ । ‘यो दवाव आवश्यक छ भन्नेमा सायदै दुई मत रहला,’ उनले फेसबुकमा लेख्दै भनेका छन् ।











