चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमाथि अनुसन्धान हुने बताएका छन् ।

आज (सोमबार) चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् । उनले भने, ‘दुई करोडको कुरा आएको छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ अडियोको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने समेत गृहमन्त्री श्रेष्ठले बताए ।
साथै, उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई समन्वयका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउन पनि आग्रह गरेका छन् । मेयर शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप लगाएको भन्दै उनले काठमाडौँ महानगरपालिकाका मेयरका बारेमा व्यक्तिगत रूपमा अहिले कुनै टिप्पणी गर्न नचाहेको समेत बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘तर प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न संघीय सरकार मद्दत गर्न प्रतिबद्ध छ ।’











