Logo
Logo

हाम्रो पार्टी प्रदेश सरकारमा सहभागी हुन्छ: नेपाल


945
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताएका छन् ।

मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागी हुने बताए । आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने उनको भनाई छ ।

‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ । गठबन्धन दलमा हामीपनि सामेल छौँ । केन्द्रमा पनि हामी छौँँ । अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी गइरहेका छौँ । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भूमिका रहनेछ । पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ’, उनले भने ।

शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा अघि बढ्न पनि उनले आग्रह गरे । राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने अध्यक्ष नेपालको भनाई छ । शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने उनले बताए ।

यस्तै, अध्यक्ष नेपालले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताए । ‘शिक्षालाई अत्यधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरुको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ । त्यस्तै शिक्षा प्रदान गर्न एकजना बालबालिकापनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्