Logo
Logo

उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्ष अञ्जनको सम्भावना बलियो


1.4k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको लागि भएको निवार्चनको मतदान सकिएको छ । निर्वाचन प्रतिनिधिका अनुसार सतप्रतिशत मत खसेको छ ।

एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चयन गर्न आज मतदान भएको हो । मतगणना भने राति ८ बजेबाट सुरु हुनेछ ।
आजको निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्नेछ । महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष (तीन वर्षपछि अध्यक्ष) बन्न त्रिपक्षीय भिडन्त रहेको छ ।

वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्षमा अञ्जनको सम्भावना बलियो रहेको मतादाताहरु बताउँछन् । अञ्जनको पक्षमा कुशकुमार जोशी, आनन्दराज मुल्मी, महेशलाल प्रधान छन् । भवानी राणा, प्रदीपजंग पाण्डे, सौरभ ज्योति पनि उनकै पक्षमा रहेको बताइएको छ । यद्यपि, उनीहरु भने खुलेका छैनन् ।

रामचन्द्रको पक्षमा वर्तमान अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारका छन् । उमेशलालको पक्षमा पूर्वअध्यक्षहरू चन्डीराज ढकाल, विनोद श्रेष्ठ, सुरज वैज्ञ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार छन् ।

भावी अध्यक्ष ढकाल भने कुनै पक्षमा खुलेका छैनन् । अघिल्लो पटक शेखर गोल्छा भने खुलमखुला किशोर प्रधानको पक्षमा भोट माग्दैै हिँडेका थिए । तर, ढकाल कसैको चुनावी सभामा गएका थिएनन् ।

एसोसिएटतर्फ १९ जनामा उमेशको १३, संघईको ११ र अञ्जनको ६ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला नगरतर्फ १८ जना उम्मेदवारमध्ये उमेशले १८ जना र अञ्जनले १२ जना उम्म्मेदवार उठाएका छन् । वस्तुगततर्फ पनि उमेश र अञ्जनको १४÷१४ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।


वरिष्ठ उपाध्यक्षसँगै बिहीबार ६६ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ । वस्तुगत संघमा १४ सदस्यका लागि २८ जना, उद्योग वाणिज्य संघतर्फ १८ का लागि ३२ जना र एसोसिएटतर्फ १९ का लागि ३० जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्