Logo
Logo

पूर्वराजाको वक्तव्य- देशको अवस्थाप्रति युवा पिँढीमा असन्तुष्टि र बिद्रोहभाव देखिएको छ


567
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्था शासकीय अवस्थाप्रति युवा पिँढीमा चरम असन्तुष्टि देखिएको टिप्पणी गरेका छन् । नेपाली नयाँ वर्षको अवसरमा बिहीबार शुभकामनासन्देश जारी गर्दै उनले विगत तीन दशकयताको घटनाक्रमप्रति युवा पिँढीमा पूर्णतया असन्तुष्टि र बिद्रोहभाव देखिएको बताएका हुन् ।

पूर्वराजा शाहले भनेका छन्, ‘युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम बिद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’

उनले सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरुको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको समेत बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै शाहले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या बढेको उल्लेख गरेका छन् ।

हालैका दशकमा जानेर वा नजोर देशका विभिन्न पक्षबाट भएका कमजोरीबाट देशले दुःख पाएको उनले नेपाली माटो, नेपाली प्रकृति नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगतितिर लाग्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्