काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको धारणा राखेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको जनाए । मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने उनको भनाइ छ ।
महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने जनाए ।
कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने उनको भनाइ छ ।
उनले नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गरे । महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको दाबी गरे ।
उनले भने, ‘नागरिकमा ठूलो छटपटाहट छ । ठूलो एउटा दिग्दारी देखिन्छ । अझ एक किसिमको आक्रोश देखिन्छ । यो आक्रोश केको आक्रोश हो ? संविधान नभएको बेलामा बरु मान्छेहरुमा एकखालको स्थिर मन थियो । अहिले मन यति चञ्चल छ । सपना हुन्छ नि मानिसमा । प्रत्येकको आफ्नो सपना हुन्छ । सपना बोकेर हुर्किरहेको हुन्छ । कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन । आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ ।’
उनले थपे– ‘मान्छे आक्रोशित हुन्छ र मान्छे वाक्क हुन्छ । अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ । आशा र विश्वास मानिसले गुमाइसके । आजको दिनमा हाम्रो पार्टी नेपाली का्रग्रेसले सपनाको मलामी जानुपर्ने कुरालाई अन्त्य गर्ने बाटोतिर लिएर गयो, एउटा भरोसा, विश्वास दियो भने सम्वभ नभएको होइन ।’
महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।











