
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि लामिछानेले जिते पुनः निर्वाचन हुने आशंका व्यक्त गरेका छन् ।
आइतबार प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गत मंसिरमा भएको चुनावको जस्तो नतिजा आए पुनः उपचुनाव हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।
उनले भने, ‘अहिले पनि चितवन–२ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ ।’ गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए ।
उनले रविले जनतालाई ढाँटेको उनको भनाई थियो । ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठीकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो,’ उनले भने ।
प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उपचुनावमा उम्मेदवार बनेका उनको दोहोरो राहदानी विवाद कायमै छ । यद्यपि महान्यायाधिवक्ताको कार्यालय भने यसमा मुद्दा चलाउनुनपर्ने देखिएको ठहर गरिसकेको छ ।
रविकै कारण चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । जहाँ रविसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार बनेका छन् ।











