काठमाडौं । काठमाडौंको मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
हरेक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन बेलुकीदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान छ ।
मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको बताए ।
शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी आफ्ना आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् ।
















