
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्य चुन्नका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो । तर, उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धी बनेका केही उम्मेदवारहरुले नै आफुलाई मतदान गर्न नपाउने भएका छन् ।
चितवन– २ मा रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफैंले मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपानेको निर्वाचन क्षेत्र नम्बर ३ मा रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् ।
यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा पुनः उपनिर्वाचन गराएको हो ।
यस्तै, तनहुँ १ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले पनि मतदान गर्न पाएनन् ।उनीहरुको मतदाता नामावली काठमाडौंमा रहेकाले उनीहरूले उक्त क्षेत्रको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।
नेपाली कांग्रेसबाट गोविन्द भट्टराईसहित ९ राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनमा प्रतिस्पर्धामा रहेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो ।
यता बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली अन्य स्थानमा रहेकाले उनीहरूले मतदान गर्न नपाएका हुन् ।
यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचनका लागि मतदान भएको हो ।











