Logo
Logo

गण्डकीमा नयाँ मुख्यमन्त्री को ?


1.6k
Shares

काठमाडौं । गण्डकी प्रदेशले आज (आइतबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी शनिबार संसदबाट विश्वासको मत पाउन नसकि पदमुक्त भएपछि प्रदेशले संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार आज नयाँ मुख्यमन्त्री पाउने भएको हो ।

अधिकारी २०७९ पुस २५ गते माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरबदल भएसँगै माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन चैत १० गते फिर्ता लिएको थियो ।

समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाबमोजिम अधिकारीले शनिबार विश्वासको मत लिन प्रस्ताव गरेका थिए । प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनको मुख्यमन्त्री कार्यकाल १ सय ५ दिनमा सीमित हुन पुग्यो ।

प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुबैले दावी गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले गठबन्धन दलबीचको सहमति अनुसार आज मुख्यमन्त्री नियुक्त हुने बताए ।

कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भइसकेको र सरकारको पहिलो नेतृत्व आफुले गर्न पाउनुपर्ने उनको छ। यता नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले पनि पहिलो कार्यकाल आफुले पाउनुपर्ने अडान राखेका छन् । यद्यपी उनीहरु केन्द्रबाट आउने निर्देशनको पखाईमा छन् ।

केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सरकार गठनका लागि बहुमत छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादीका सभामुखसहित आठ र एकीकृत समाजवादीका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्