Logo
Logo

रविले गरे आफ्नै रेकर्ड ब्रेक, अर्को १ सिट थप्दै संसदमा ‘कम्ब्याक’


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

गत मंसिर ४ मा चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछाने नागरिकता विवाद प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका थिए ।

अदालतको फैसलापछि एकै झट्कामा उनको उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदसमेत गुमेको थियो । माघ १५ मा नागरिकता पुनःप्राप्तिपछि उनी पार्टी सभापति बने भने सोही दिन पुनःपदवहाली भएका थिए ।

नेपाली नागरिकता त्यागेर अमेरिकी ग्रिनकार्ड र राहदानी लिएपछि नेपाल फर्केर पुनःप्राप्तिको निवेदन नदिएको भन्दै अदालतले उनको विपक्षमा फैसला गर्दा लामिछानेको सबै पद गुमेको थियो ।

यो उपनिर्वाचन जितेपछि रवि लामिछानेको लागि प्रतिनिधिसभाको ढोका पुनःखुलेको छ । उनले यसअघि गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा ल्याएको मतको रेकर्ड ब्रेक गरेका छन् । लामिछानेले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए भने, मंगलबार सम्पन्न मतपरिणामअनुसार उनले ५४ हजार १७६ मत पाएका छन् ।

गत मंसिरमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २० सिट हात पारेको रास्वपाले एक सिट थप्न सफल भएको छ । रविसँगै तनहुँ १ बाट अर्थविद डा स्वर्णिम वाग्लेले पनि चुनाव जितेका छन् । अब संसदमा रास्वपाको २१ जना सांसद हुनेछन् ।

लामिछानेको संसदमा धमाकेदार ‘इन्ट्री’ भएसँगै सत्तामा समेत उनको बलियो दाबी रहन सक्नेछ । तर, उनले सरकारमा जानुको औचित्य सकिएको बताएका छन् । उनले आजै मात्र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्