
काठमाडौं । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सकिएको छ । उपनिर्वाचन भएको तीनै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
बैशाख १० गते भएको उपनिर्वाचनबाट चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतसहित निर्वाचित भए भने तनहुँ-१ मा रास्वपाकै उम्मेदवार स्वर्णिम वाग्ले निर्वाचित भए । त्यसैगरी बारा-२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।
उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेको छ ।
चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रबाट न्यौपानलाइ १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।
सो निर्वाचन क्षेत्रमा रास्वपाका लामिछानेले ५४ हजार १७६ ल्याएर बिजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए । न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।
यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो । उनले १० हजार मत पनि कटाउन सकेनन । उनी ८ हजार ४ सय ८८ मतमा सिमित भए ।
सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित बिजयी भएका छन भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।
उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।
सो क्षेत्रबाट बिजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए ।
बिजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन ।











