काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वैशाख १० गते सम्पन्न उपनिर्वाचनको अंकगणितीयमात्रै नभएर मनोवैज्ञानिक सन्देशसमेत भएको बताएका छन् । तनहुँ र चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक मतान्तरले जितेपछि ठूला दलहरुलाई धक्का लागेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘उपनिर्वाचनको अंकगणितीयमात्र हैन, मनोवैज्ञानिक सन्देश पनि छ । अङ्कगणित, सत्ता समीकरणमा तात्विक फरक पार्ने खालको छैन’ उपमहासचिव रिमालले भनेका छन्, ‘मनोवैज्ञानिक सन्देश भने महत्वपूर्ण छ ।’ ठूला पार्टी लक्षित सच्चिने शब्दको भाव अहिले सुधार गर भन्ने भएपनि मनोवैज्ञानिक सन्देश ‘कार्यशैली सुधार गर’ भन्ने मात्र नभएको उनको टिप्पणी छ ।
‘नयाँ मार्केटिङ स्टन्ट पछ्याउ भन्ने पनि हैन । अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर भन्ने हो । मेरो बुझाइ सही हो भने यो मनोविज्ञानलाई आत्मसात गर्नुपर्छ’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।











