काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ ।
नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले १६ ओभरमा ६ विकेट गुमाएर ५५ रन बनाउँदै खेलिरहेको छ ।

नेपालका सोमपाल कामीले दुई तथा ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिँदै नेपाललाई सफलता दिलाएका छन् ।
तेस्रो ओभरको दोस्रो बलमा ललितले ओपनर कमरन खानलाई ८ रनमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए ।
छैटौँ ओभरको अन्तिम बलमा सोमपाल कामीले इमाल लियांगालाई ६ रनमा बोल्ड आउट गरे। सन्दीपले जहिर इब्राहिमलाई १५ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराए ।
१० औं ओभरको चौथो बलमा सोमपालले नै मुहम्मद तनविरलाई शून्यमा बोल्ड आउट गराए । त्यसपछि १२ औँ ओभरको छैटौँ बलमा इक्रमुल्लाह खानलाई सोमपाल कामीले भीम सार्कीमार्फत क्याच आउट गराएका थिए । खान १३ बलमा ५ रन जोड्दै आउट भएका छन् ।
त्यसैगरी सन्दीप लामिछानेले मोहम्मद रिजलानलाई आशिफ शेखको हातबाट पबेलियनको बाटो देखाए । रिजलान ८ बलमा केबल ४ रन बनाउँदै आउट भए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।














