काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार सिंहदरबारमा एमाले नेताहरूले मुलुकको शान्तिसुरक्षामा चुनौती बढेको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

बुधबार झापाको एक कार्यक्रममा सहभागी हुनेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याई कारबाही गर्न समेत एमालेले गृहमन्त्रीको ध्यानाकर्षण गराएको नेता राजन भट्टराईले जानकारी दिए ।
अपराधिक प्रवृत्तिहरूलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले नै प्रोत्साहन गर्न खोजेको समेत एमालेले आरोप लगाएको छ ।
यस्तै, काठमाडौंको सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै छिटोभन्दा छिटो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन एमालेले माग गरेका छ ।
एमालेका नेताहरूको भेटमा गृहमन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटो भन्दा छिटो दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको नेता भट्टराइले बताए ।














