काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद लक्ष्मी महतो कोइलीबारे नयाँ नियमावली पारित भएपछि कुनै जानकारी प्राप्त नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा एमालेका सांसद कोइलीबारे राखेको जिज्ञासामा सभामुख घिमिरेले यसबारे कुनै जानकारी प्राप्त नभएको बताएका हुन् ।

सभामुख घिमिरेले भने, ‘लक्ष्मी महतो कोइलीका सम्बन्धमा प्रतिनिधिसभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’
कांग्रेस सांसद खतिवडाले कोइलीलाई थुनामा राख्न प्रहरीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेको बताएपछि उक्त प्रशंग उठेको हो । सांसद खतिवडाले सभामुख घिमिरेलाईसांसद कोइलीलाई निलम्बित गर्नुपर्ने हो वा होइन भन्नेबारे सदनलाई जानकारी गराउनसमेत आग्रह गरेका थिए ।
सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । त्यसपछि सांसद कोइली प्रहरीको फरार सूचीमा छन् ।











