काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारबाट बिभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । पुनले शुक्रबार काठमाडौंको माइतिघरमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना सुरु गरेका हुन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने उनको माग छ ।

त्यस्तै, उनले सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनुपर्ने उनको माग छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमार्फत नवउद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनुपर्ने उनले माग गरेका छन् ।
पुनले प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने माग अघि सारेका छन् । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने र धर्नामा बस्ने बताए ।











