Logo
Logo

रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिऊँ : पर्यटनमन्त्री


4k
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

होटल सेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन गर्दै उनले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसका लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’ उनले देशको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको बताउँदै यसको संकट मोचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्य रहेको समेत बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पाएको छ, त्यो जनताको आक्रोश भएको बताउँदै मन्त्री किरातीले भने, ‘मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो यो । हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’

मन्त्री किरातीले गणतन्त्र नेपालमा राणाकालीन कानुन बोकेर हिँड्नु परेको समेत बताए । उनले भने, ‘एउटा व्यवसाय दर्ता गर्न ७ वटा मन्त्रालय, २२ वटा विभाग र सयौँ टेबल पुग्नुपर्ने अवस्था छ । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुन छन् । पैसामा चावी लगाएर बालुवामा श्रम गर्न पठाउने हाम्रो नीतिमै खोट छ । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ । तर, तिनलाई आज प्लेनको टिकट महँगो भएकाले सास्ती भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्