काठमाडौं । इलाका प्रहरी कार्यालय, टीकापुरका डिएसपी उद्धवसिंह भाटमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । भाट तीन महिनाअघि सरुवा भई टीकापुर पुगेका हुन् ।

भाट टीकापुर आएदेखि नै विवादमा तानिएका छन् । भाटले सीमा पारीको व्यापारमा संलग्न व्यवसायीहरूसँग हप्ता असुली गर्ने गरेको, कार्यालयभित्र अछामी समुदायका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको, जात र भेगको आधारमा पेलेको भन्दै प्रहरी प्रधान कार्यालयमा निवेदन परेको थियो ।
भाटको दुव्र्यवहार खप्न नसकेर मातहतका प्रहरी कर्मचारीले समेत निवेदन हालेको बुझिएको छ । भाट माथि छानविनको माग गर्दै निवेदन परेपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्देशनमा प्रहरी उपरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनेको थियो । प्रहरी उपरीक्षक नेत्रमणि गिरीको नेतृत्वमा बनेको समितिमा डीएसपी भरत चौधरी लगायत प्रहरी अधिकृत छन ।
समितिले टीकापुर पुगेर डीएसपी भाटमाथि लागेका आरोपबारे विभिन्न सामाजिक व्यक्ति, संस्था, प्रहरी कर्मचारीहरु र भन्सारका कर्मचारी तथा व्यवसायीहरुसँग बुझ्ने काम गरेको छ । डिएसपी भाटमाथिका आरोपबारे अनुसन्धान गरेर प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाइने समितिका एकजना सदस्यले बताएका छन् ।
डीएसपी भाटले भने आफूमाथि हुने छानविनलाई सकरात्मक रुपमा लिएका छन् । उनले भने, ‘यो छानविनबाट म माथि लागेका आरोपहरु खारेज हुनेमा विस्वस्त छु । यो सकरात्मक कुरा हो ।’











