Logo
Logo

कुनैपनि मिटरब्याजीले उन्मुक्ति पाउँदैन : गृहमन्त्री


1k
Shares

सर्लाही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मिटरब्याजपीडितको पक्षमा रहेको बताएका छन् । वाग्मती नगरपालिकाले शनिबार आयोजना गरेको नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजीका लागि सरकार कठोर रहेको बताएका हुन् ।

मिटरब्याजीको पक्षमा लागेको खबर पाए कार्यकर्तालाई कारबाही गर्ने समेत उनले चेतावनी दिए । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उनले सर्लाहीमा मिटरब्याजीको जालो फैलिएको भन्दै राजनीतिक पहुँचको आधारमा कुनैपनि मिटरब्याजीले उन्मुक्ति नपाउने दावी गरे ।

गृहमन्त्री श्रेष्ठले भने, ‘पार्टीको सक्रिय कार्यकर्ता भएपनि मिटरब्याजीको पक्षमा रहेको जानकारी पाए हामी कारबाही गर्छौँ । मिटरब्याजको चंगुलमा यो जिल्ला परेको छ, पीडितलाई न्याय दिलाउन हाम्रो पहल हुनेछ ।’

मधेश प्रदेशमा मिटरब्याजको जालो रहेकाले जनकपुरमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालय नै स्थापना गरेर त्यस सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने उनले बताए ।

गृहमन्त्री श्रेष्ठले वाग्मती नगरपालिका–११ मा नगरले लोपोन्मुख जाति पहरीका १३ परिवारका लागि १ करोड ५३ लाख रुपैयाँबराबरको लागतमा निर्माण गरिएको पक्की घरको साँचो हस्तान्तरण गरेका थिए । यससँगै वाग्मती नदी किनारमा बसोबास गरिरहेका पहरी जातिका कुल ७० जना शनिबारबाट पक्की घरमा सरेका छन् ।

प्रतिक्रिया दिनुहोस्