भैरहवा । भन्सार छली गरी भित्र्याइएको अवैध सामानसहित ट्याक्टर रुपन्देही प्रहरीले बरामद गरेको छ । अवैध चिनी, खाद्यान्न र मल (यूरिया) लगायतका सामान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहत इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नं. ५, रजाडबाट अवैध चिनी नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ भन्छार छली चोरीपैठारी गरी अवैध रुपमा ल्याई विभिन्न स्थानहरुमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले २८ बोरा चिनी बरामद गरेको हो ।
उक्त चिनीको अन्दाजी मूल्य १ लाख १२ हजार रहेको रुपन्देी प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । बरामद चिनी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको अर्यालको भनाई छ ।

यस्तै, प्रहरीले अवैध खाद्यान्न तथा युरिया (खाद) नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ७, गरकट्टीबाट अवैध खाद्यान्न तथा युरिया नियन्त्रणमा लिएको हो । भारतबाट नेपाल तर्फ भन्छार छली चोरीपैठारी गरी ल्याइएको उक्त सामान प्रहरीले बरामद गरेको हो ।
लु १ त ९७८० नम्बरको ट्याक्टरमा युरिया (खाद) ६० बोरा (३ हजार के.जी.) र गहुँ ८० बोरा (४ हजार के.जी.) बरामद गरिएको डीएसपी अर्यालले जनाए । उनले अवैध सामान र ट्याक्टरसहित अन्दाजी मूल्य १२ लाख ८० हजार कायम गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार बुझाइएको बताए । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले चोरी गरेर अवैध सामान भित्र्याइरहेका छन् । यस्तोबेला रुपन्देही प्रहरी सक्रिय देखिएको छ । प्रहरीले पछिल्लो समय नेपाल भित्र्याइको अवैध सामान धमाधम बरामद गरिरहेको छ । रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकका अनुसार कपडा, घरेलु सामान, हार्डवेयर लगायतका सामान पछिल्लो तीन महिनामा लाखौं रुपैयाँको बरामद भइसकेको छ ।











